प्रतिबद्धता लिएर घर घरमा गठबन्धनका उम्मेदवार
शिवसतासी । आम निर्वाचन नजिकिदै गएपछि घरदैलो एवम् कोणसभामार्फत मतदाताका घर–घरमा उम्मेदवारहरु पुगेका छन् । आफू समर्थित राजनीतिक दलको एजेण्डा र आफ्नो क्षेत्रका आवश्यकता एवम् योजनाहरु लिएर उम्मेदवारहरु मतदाताका घर–घरमा पुगेका हुन् ।
यही क्रममा झापा क्षेत्र नं–४ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवारदेउकुमार थेवे, प्रदेशसभा क का उम्मेदवार झलकसिंह दर्लामी र प्रदेशसभा ख का उम्मेदवार एकराज उप्रेती गठबन्धनका कार्यकर्तासहित मतदाताका घर–घरमा पुगेका हुन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवेले शिवसतासी ७, ९ र १० मा घरदैलो एवं त्यहाँस्थित विभिन्न चोकमा आयोजित कोणसभालाई सम्बोधन गरेका छन् । आफ्नो मुख्य एजेण्डा, सडक, सिंचाई, विद्युत, नदी नियन्त्रण, सुकुम्बासी समस्या समाधान एवं शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको बताउँदै नेपाली कांग्रेस झापाका सभापति समेत रहेका थेवेले आफू जनताको सुखदुःखमा साथसाथै रहने बताए ।
यसैगरी झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार राना, प्रदेशसभा–२ का उम्मेदवार खगेन्द्र मैनाली, प्रदेशसभा–१ का उम्मेदवार पुष्प पोखरेल सहित गठबन्धनका कार्यकर्ताहरुले अर्जुनधारा एवम् विर्तामोड नगरपालिकाका विभिन्न वडामा प्रचार अभियान सम्पन्न गरेका छन् । क्षेत्र नं–२ प्रदेशसभा–२ अन्तरगत अर्जुनधारा वडा नं–११ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले आफूले अर्जुनधारा नगरप्रमुखको भूमिकामा रहँदा थुप्रै जनमुखी एवं विकास निर्माणका काम गरेको उदाहरण पेश गर्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम जनसमृद्धिका क्षेत्रमा काम गर्ने अवसर दिन आह्वान गरे ।
प्रदेशसभा–२ का उम्मेदवार खगेन्द्र मैनालीले झापा क्षेत्र नं–२ प्रदेशसभा–२ मा पर्ने आधा दर्जन बढी खोलाहरुमा तटबन्ध एवं चेकड्याम निर्माण, सडकहरुको स्तरोन्नति एवं पक्की सडक निर्माण, कृषिलाई प्राथमिकतामा राखेर सिंचाई एवं मलखादको ब्यवस्थापन, सुकुम्बासी समस्या समाधान, शैक्षिक संस्थाहरुको स्तरउन्नति एवं प्राविधिक शिक्षा विस्तार लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच झापा क्षेत्र नं–५ प्रतिनिधिसभा सदस्यका उम्मेदवारडा। खगेन्द्र पाण्डव अधिकारी, प्रदेशसभा १ का उम्मेदवार जीवनकुमार राई र प्रदेशसभा २ का उम्मेदवार गगन पुरीसहित गठबन्धनका कार्यकर्ताहरुको टोलीले कमल गाउँपालिका वडा नं–७ र गौरादहमा घरदैलो एवम कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।
कोणसभाका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि अधिकारीले अहिलेसम्म भएका ब्यवस्था परिवर्तनका आन्दोलनमा नेपाली कांग्रेसले सँधै नेतृत्वदायी भूमिका खेलेको धारणा राख्दै अव जनताको जीवनस्तर बृद्धि र रोजगारी सिर्जनाका लागि कार्य गर्ने अवसर दिन जनतासँग आग्रह गरे । कांग्रेस नेतृृत्वको गठबन्धनको विजयले मात्रै मुलुकमा स्थायित्व र शान्ति प्राप्त हुने उनको भनाई थियो ।