झापा १ : दुई ‘हेभिवेट’लाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार खतिवडा
बिर्तामोड । झापाको क्षेत्र नम्बर १ मा रहेका दुई हेभिवेटलाई प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार विदुरकुमार खतिवडाले पछ्याइरहेका छन् । चुनावी प्रचारका लागि मुढा चुनाव चिन्ह लिएर खतिवडा आफ्नो क्षेत्रको प्रत्येक घरमा मत माग्न पुगिरहेका छन् ।
आजसम्म कुनै राजनीतिक दलको सदस्यता नलिएको बताउने खतिवडाले आफै उम्मेदवार हुने तय गरेपछि मात्र मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको बताउँछन् ।

स्थानीय तहको निर्वाचन सकिएसँगै चुनावी तयारी गरेका खतिवडा विभिन्न सामाजिक संस्थाको माध्यमबाट सामाजिक क्रियाकलापमा सक्रिय थिए । बुद्धशान्ति–६ मूल घर भएका खतिवडा मेचीनगर–६ मा बसोबास गर्दै आएका छन् । २०३४ सालमा किसान परिवारमा जन्मिएका उनले डेढ दशकसम्म यातायात मजदुरको विभिन्न संघसंगठनमा आवद्ध भएर काम गरेका थिए ।
उनले मजदुरका समस्या समाधानका लागि आफ्नो सम्पूर्ण समय खर्चिएको बताउँछन् । त्यतिबेला देखि नै समाजसेवा प्रति लगाव बढेको उनको भनाई छ । अभाव र गरिबीलाई नजिकबाट नियालेका खतिवडा उम्मेदवारले सुशासन, गरिबी निवारण, विकास निर्माण, सामाजिक सुरक्षा, पिछडिएको वर्ग, दलित, भूमिहिन, किसान, मजदुर, महिला तथा बालबालिका, उद्योगी व्यवसायी आदि क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्छन् ।
यस अघिका उम्मेदवारहरुले चुनावको मुखमा गुलियो भाषण गर्ने तर जितेको भोलिपल्टबाट तिनै मतदातालाई बिर्सने गरेका कारण यो निर्वाचनमा मतदाता नझुक्किने बताउँछन् । झापा क्षेत्र नम्बर १ को सर्वपक्षीय विकासका लागि आफ्नो उम्मेदवारी रहेको खतिवडाको भनाई छ । उनका अनुसार विगतमा आफूले गरेको जनताको कामलाई हेरेर मतदाताहरु आकर्षित भएका छन् ।
अन्य नेताहरु आउने चुनावमा सहभागी हुने अनि लाखापाखा लाग्ने तर आफुसँधै यहि रहने भएकाले सँधैभरी मतदातासँगै हुने बताउँछन् । चुनावपछि पनि तिनै मतदाताको हितमा आफु तल्लिन रहने उनको भनाई छ ।
मेचीनगर नगरपालिकाको १५ वटा, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ र भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडा गरी २१ वटा वडा रहेको झापा १ मा करिब १ लाख २० हजार मतदाता रहेका छन् । सो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेको तर्फबाट पूर्व मन्त्री तथा महान्यायाधिवक्ता अग्नी खरेल चुनावी मैदानमा छन् ।