प्रदेश १ को तत्काल नामाकरण हुन नसक्ने
दमक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजीकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले तत्काल प्रदेशको नामकरण हुन नसक्ने बताएका छन् ।
प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कार्कीले प्रदेशको नामकरणमा एमालेसहित सबै राजनीतिक दलहरु चुकेको समेत बताए । दमकमा पत्रकार भेटघाट गर्दै मन्त्री कार्कीले प्रदेशको नामकरण चुनाव अगाडि सम्भव नभएको भन्दै लामो समय सरकारमा रहेको र सबैभन्दा ठूलो दलको हिसाबले यसको नैतिक जिम्मेवार एमाले रहेको बताए ।
पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारण समेत नामकरणमा समस्या भएको उनको भनाइ थियो । ‘सबैको पहिचानको झल्किने नामको पक्षमा रहेका थियौँ र छौँ तर जातीय पहिचान झल्किने नाम अहिलेको सरकारले ल्याउन खोजेपछि समस्या भएको हो,’ कार्कीले भने ।
तीन वर्षभन्दा लामो समय आफूहरुले प्रदेश सरकारको नेतृत्व गरेको र त्यो समयमा प्रदेशका संरचनाहरु निर्माण तथा कोरोना महामारीका कारण ध्यान त्यसतर्फ केन्द्रित भएकोले प्रदेशको नामकरणका विषयमा पर्याप्त छलफल गर्न नसकिएको उनले स्वीकार गरे ।