ओली लिङ्देन भेट निष्कर्ष विहिन
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो ।
शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो ।
‘उहाँहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको हो,’ स्रोतले भन्यो, ‘गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा पुगिसकेको छैन । फेरि बैठक होला ।’
लिङ्देन झापा ३ मा चुनाव लड्दैछन । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए भने झापा ५ मा राप्रपाले एमालेलाई सहयोग गर्दा ओली विजयी भएका थिए ।
लिङदेनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका थिए । यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।