एमालेसँग सैद्धान्तिक लडाँइ लड्नु पर्छ : माओवादी नेतृ चापागाईं
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य धर्मशीला चापागाँईले नेकपा एमालेसँग सैद्धान्तिक लँडाई लड्नु पर्ने बताएकी छिन् ।
चापागाँईले नेकपा एमालेलाई जनताको बिचमा नङ्ग्याउन आवश्यक रहेको बताएकी छिन् । नेपाली कांग्रेससँग गठबन्धन गर्नु बाध्यता भएको बताउँदै अबपनि एमाले बिरुद्ध नलडे अझै १० बर्ष पार्टीले पूर्वमा निर्वाचन जित्न नसक्ने धारणा राखेकी छिन् । नेकपा (माओवादी केन्द्र) २ नम्बर क्षेत्रीय समितिले बिर्तामोडमा आइतबार (आज) आयोजित क्षेत्रीय समन्वय समितिको विस्तारित बैठकको प्रमुख अतिथिसमेत रहेकी चापागाँईले त्यस्तो बताएकी हुन् । ‘देशको मुख्य शत्रु एमाले भएको छ,’ पोलिटब्यूरो सदस्य चापागाँईले भनिन् ‘जसले संविधानसमेत लत्यायो ।’ उनले एमालेको चरित्र जनता समक्ष नङ्गाउन आवश्यक रहेको बताइन् । ‘नागरिकता विधेयक जे पास भयो, त्यो एमालेको ड्राफ्ट हो’ उनले भनिन् ‘आज त्यसै विरुद्ध एमाले नै लागेको छ ।’ उनले एमालेको सरकार हुँदा उसले गरेको भ्रष्टाचार र स्थानीय तहको बेरुजुको अवस्थाको भण्डाफोर गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रमका बोल्दै चापागाँईले चारदलीय समाजवादी केन्द्र निर्माणको पनि संकेत गरिन् ।
चापागाँईले पार्टीले निराश भएर दुलाभित्र पस्ने अवस्था नरहेको बताउँदै पार्टीको दस्तावेजलाई कार्यान्वयन गरेर जान सके प्रदेश र संघीय निर्वाचनमा सन्तोषजनक जीत हासिल गर्न सक्ने धारणा ब्यक्त गरिन् ।
कार्यक्रममा पार्टीका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, अर्जुनधाराका अध्यक्ष नरकुमार तामाङ (नारद) र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङले आ-आफ्नो पालिकाको रिपोटिङ प्रस्तुत गरेका थिए ।
पार्टीका प्रदेश नं. १ सचिवालय सदस्य, झापा सह–इन्चार्ज तथा २ नम्बर क्षेत्र प्रमुख सीपी कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने(सरु), प्रदेश नं. १ उपाध्यक्ष शिव डाँगी, मणिकुमार साम्पाङ (विजय), प्रदेश सचिवालय सदस्य ज्योतिसिं दर्लामी, रोशन कन्दङ्वा, शिखर कडरिया, कुबेर श्रेष्ठ (अरुण), अस्मिता तामाङ, भूपाल सापकोटा, सञ्चार नेम्वाङ, बासु दुलाल, जितेश योञ्जन, रोशन तिम्सिना, भिम लकान्द्री, बिर्तामोड उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, छाँया सिग्देल, सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।