काठमाण्डौ, भरतपुर र पोखराको प्रमुखमा को अगाडी ?
बिर्तामोड । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मत गणना भइरहेका तीन महानगरपालिकाको प्रमुख र उपप्रमुखमा को अगाडी छ भनेर सबैलाई चासो भइरहेको छ । प्रमुख पदमा काठमाण्डौमा स्वतन्त्र उम्मेदवार बालेन साह, भरतपुरमा रेणु दाहाल र पोखरामा धनराज आचार्य अगाडी छन् ।
काठमाण्डौ महानगरपालिकाको प्रमुख पदमा अगाडी रहेका बालेन साहले यो समाचार तयार पार्दासम्म ३९ हजार ६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले २२ हजार ७२ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन् ।
उपप्रमुख पदमा नेकपा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतका साथ अग्रस्थानमा छिन् भने नेकपा एकिकृत सामाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९२ मतका साथ दोस्रो स्थानमा छन् ।
भरतपुर महानगरमा रेणु दाहाल ३५ हजार ५९५ मतका साथ अग्रस्थानमा छिन् भने नेकपा एमालेका विजय सुवेदीले २७ हजार ९७९ मतका साथ दाहाललाई पछ्याइ रहेका छन् ।
उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३७ हजार ७४२ मत सहित अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ २२ हजार १२२ मतसहित दोस्रो स्थानमा छिन् ।
पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका धनराज आचार्य ४० हजार ४३४ मत सहित सबैभन्दा अगाडी छन् । उनलाई नेकपा एमालेका कृष्णबहादुर थापाले ३७ हजार १७४ मतसहित पछ्याइरहेका छन् ।
उपप्रमुख पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित पहिलो स्थानमा छिन् । गुरुङलाई ४० हजार ७०४ मतसहित नेपाली कांग्रेसकी कोपिला रानाभाटले पछ्याइरहेकीछिन् ।