इलाममा एमालेले गुमायो तीन पालिका प्रमुख
बिर्तामोड । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले इलाम जिल्लामा तीन पालिका प्रमुख गुमाएको छ । स्थानीय तह निर्वाचन २०७४ मा सात वटा पालिका प्रमुख जितेको एमालेले यो चुनावमा ४ वटामात्र पालिका प्रमुख जितेको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले इलाम जिल्लाको इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका, माइ नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकामा जित हासिल गरेको थियो । तर यसपटक एमालेले देउमाई नगरपालिका, माई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको प्रमुखमात्र जितेको छ ।
यो निर्वाचनमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई नेकपा एकिकृत समाजवादीमा गएका छन् भने इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र चुलाचुली गाउँपालिकामा एमालेले हार व्यहोरेको छ ।
इलाम नगरपालिकामा एमालेका महेश बस्नेतले ११०३३ मत प्राप्त गरी विजयी भएका थिए । उपप्रमुखमा एमालेकै सुशिला नेम्बाङ विजयी भएकी थिइन् । तर यो निर्वाचनमा नेपाली कांग्रेसका केदार थापा १३१६५ मतसहित विजयी बने । उनले एमालेका उम्मेदवार धिरेन चेम्जोङलाई पराजित गरेका हुन् । चेम्जोङले १०५८७ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसकै विष्णुकुमारी लिम्बु निर्वाचित भइन् ।
चुलाचुली गाउँपालिकामा एमालेका प्रदिपचन्द्र राई प्रमुखमा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका राजेन्द्र केरुङलाई पराजित गरेका थिए । तर यो निर्वाचनमा उनै राजेन्द्र केरुङ विजयी भ एभने प्रदिपचन्द्र राई पराजित भए । उपाध्यक्षमा एमालेकै दिलकुमरी लिम्बु विजयी भइन् ।
सन्दकपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उदयबहादुर राई ४५२९ मतसहित विजयी भएका थिए । तर यो निर्वाचनमा नेपाली कांग्रेसका तुलाराम गुरुङले उनै उदयबहादुर राईलाई पराजित गरे । उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका हरिबहादुर लुङ्गेली मगर विजयी भएका छन् ।
सूर्योदय नगरपालिका प्रमुखमा नेकपा एमालेका रणबहादुर राई र उपप्रमुखमा एमालेकै दुर्गादेवि भट्टराई विजयी भएका थिए । नेकपा एमाले विभाजन पश्चात नेकपा एकिकृत समाजवादीतर्फ लागेका रणबहादुर राई यस पटकपनि विजयी हुने सम्भावना बलियो छ । यद्यपी मत गणना अन्तिम अवस्थामा रहेकाले घोषणा भने भइसकेको छैन । उपप्रमुखमा पुनः दोहोर्याएकी भट्टराईलाई नेपाली कांग्रेसका दुर्गाकुमार बरालले पछाडी पारिरहेका छन् ।