एमालेले बिर्तामोडको घरदैलो कार्यक्रम तीब्र बनायो
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १० का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ ।
बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो । प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता,कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ ।
बुधबार वडा नम्बर १०का उत्तर भुतेनी, दक्षिण भुतेनी, सैनिक बजार, चमरधाप लोक्ताप गाउँ, ठुटेबर, फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरिएको छ । वडा नम्बर १० मा वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार छन् । यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे, दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे र खुल्ला तर्फ प्रेमबहादुर पौडेल, पृथ्वीबहादुर बस्नेत रहेका छन् । वडा नम्बर १० मा नेकपा एमाले र राप्रपा विच तालमेल गरिएको छ ।
कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १० भित्र रहेका खाने पानी, विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने बताइन् । उनले यस अघि विकरालरुपमा रहेका ठाउँमा सडक, पुल, कल्भर्ट निर्माण, गोवर ग्यास जडान, फिल्टरसहितको खानेपानीको व्यवस्थापन, फुसको छानो भएका घरहरुलाई टिन वितरण, विद्यायलको पठनपाठन सुधार तथा नयाँ भवन निर्माण, घेराबारा लगायत कृषि तथा बंगुरपालनको क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् ।
उम्मेदवार प्रसाईले आफु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकताका साथ वडा नम्बर १०मा रहेका अधुरो सडकलाई पुरा गर्ने र उत्तर भुतेनीको सडक कालोपत्रे गर्ने प्रतिवद्वता जनाएकी छिन् । उनले वडामा रहेका अन्य विकासका कामहरुलाई टोल विकास समितिसँग समन्वय गरेर अघि बढ्ने धारणा व्यक्त गरिन् ।
यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले यस वडामा कम्तिमा १० किलोमिटर सडक कालोपत्रे गर्ने बताए । उम्मेदवार संग्रौलाले जनताको आर्थिक आयआर्जनका लागि गाई पालन, कुखुरा पालन, वंगुर पालन व्यवसाय र सामूहिक तथा आधुनिक खेतीको लागि अनुदानको व्यवस्था गरिने बताए । नगरका सबै वडामा गरि ५ वर्ष भित्रमा एक हजार विपन्न आवास निर्माण गर्ने योजना रहेको पनि उनले बताए । क्षेत्रफलको हिसाबले वडा नम्बर १० बिर्तामोड नगरपालिकाको सबैभन्दा ठूलो वडा हो ।
वडा नम्बर १० का विभिन्न स्थानमा गरिएको कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लगायतका नेताहरुले सम्वोधन गरेका थिए । नगरका अन्य वडामा जस्तै वडा नम्बर १० मा पनि एमालेका उम्मेदवार बलियोरुपमा देखिएका छन् । एमाले उम्मेदवारहरुले टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मान समेत गर्दै आएका छन् ।