समृद्ध हल्दिबारी बनाउने चुनावी नारा मात्र होइन : भवानी दंगाल
बिर्तामोड । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुलाई मतदाताको घरदैलो कार्यक्रम गर्न भ्याई नभ्याइ छ । दलहरुले आफ्ना चुनाव चिन्हदेखि प्रतिबद्धतासम्म मतदातालाई घरघर मै गएर सुनाई रहेका छन् । नेकपा माओवादी केन्द्र हल्दिबारीले पनि घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । आइतबार माओवादी केन्द्रको प्रचारप्रसार टोलीले गोलधाप बजारदेखि त्रिवेणी चोकसम्म मतदाताको घरदैलोमा गएर समृद्ध हल्दिबारी बनाउने प्रतिबद्धता जनायो ।
हल्दिबारीको खेलकूद हाम्रो पहिचान, समृद्ध पालिका बनाउन हँसिया हथौडामा मतदान, हल्दिबारीको आयआर्जनको कृषि नै मुख्य आधार, कृषि उपजको बिक्री वितरणमा स्थानीय बजार जस्ता नाराहरु समेटिएको कागजातहरुका साथ प्रचारप्रसार समिति मतदातासम्म गएको पार्टी गाउँ कमिटि सचिव जीत राजवंशीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले ल्याएको नारा चुनावी नारामात्र नभएको अध्यक्ष पदका उम्मेदवार भवानी प्रसाद दंगालले बताए । ‘हामी गरेर देखाउँछौँ,’ उनले भने,‘हाम्रा उम्मेदवारहरुलाई विजयी गराउनुहोस हामी भिजनका साथ हल्दिबारीलाई ५ बर्षभित्र समृद्ध पालिका बनाएर देखाउँछौँ ।’ हल्दिबारीबासी विगतको सरकारले गरेको भ्रष्टाचारबाट आजित भएकाले अबको चुनाव माओवादीले जित्नेमा विश्वस्त रहेको दंगालले बताए । ‘हामी भोट मात्र मागिरहेका छैनौँ, मतदाता शिक्षासमेत दिइरहेका छौँ,’ उनले भने ।
अध्यक्ष पदका उम्मेदवार दंगाल, उपाध्यक्ष पदका उम्मेदवार टीकादेवी पौडेल राउत, १ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेदवार भक्त नेम्बाङ, महिला सदस्य अनिता फागो, दलित महिला सदस्य शिला सिवा र वडा सदस्यका उम्मेदवारहरु श्री नारायण न्यौपाने र मनोज राईसहित कार्यकर्ता र मतदाताको टिमले करिब ५ सय घरमा पुगेर मतदातालाई भेटेको उपाध्यक्ष पदका उम्मेदवार राउतले जानकारी दिइन् ।