२०८३ बैशाख १८ गते , शुक्रबार

मजदुरहरुको हकहित स्थापित गर्न गठबन्धनको उम्मेद्वार लागि पर्ने

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १८ गते , आईतबार
मजदुरहरुको हकहित स्थापित गर्न गठबन्धनको उम्मेद्वार लागि पर्ने

बिर्तामोड । श्रमजिवी मजदुरहरुको हक अधिकारका लागि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको बताइएको छ । १३३औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले मजदुरहरुको हक स्थापित गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन ।


आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघ झापा र अखिल नेपाल ढुवानी मजदुर संघको संयुक्त आयोजनामा बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा बोल्दै संयुक्त गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाका  प्रमुख पदका उम्मेद्वार भोजराज सिटौलाले आफ्नो हक हितका लागि मजदुरहरु लडिरहन आग्रह गरे । निरन्तरको संघर्षले मात्र अधिकार सुनिश्चित हुने उनको भनाई थियो । उनले नेकपा माओवादीले मजदुरको अधिकार स्थापित गराउन खेलेको भूमिकाको प्रशंसा गरे । मे दिवस विश्वभरका मजदुरहरुको पर्व भएको भन्दै शुभकामना ब्यक्त गरे ।
सिटौलाले नेपालमा लोकतान्त्रिक ब्यवस्था स्थापित गर्न माओवादी र नेपाली कांग्रेसबिच भएको १२ बुँदे सहमती महत्वपूर्ण भएको स्मरण गरे ।
संयुक्त गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाका  उपप्रमुख पदका उम्मेद्वार चन्द्रप्रसाद (सिपी) कडरियाले योगदानमा आधारित मजदुरको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने र मजदुरको ढाड सेक्ने गरि ल्याइएको श्रम ऐनको खारेज गर्नुपर्ने बताए । गठबन्धनको सरकारले स्थानीय तहमा विजय प्राप्त गरे मजदुरको हकहितमा आफुलेहरुले काम गर्ने उनले प्रतिज्ञा गरे । कडरियाले केपी ओलिको सरकारले संविधान नै धरापमा पार्ने उद्धेश्यले संसद विघटन गर्ने दुस्साहस गरेकाले संविधान रक्षाका लागि प्रतिगमन विरुद्धका दलहरु एक ठाँउमा उभिनु परेको धारणा ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटाले राज्यको
हरेक क्षेत्रमा मजदुरको योगदान भएपनि मजदुरहरु दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्नु पर्ने अवस्था छ । मजदुरहरुको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जन गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनु पर्नेमा जोड दिए । श्रम ऐन कार्यान्वयन नभएको अवस्थामा अब निर्वाचित स्थानीय सरकारले मजदुरहरुको सामाजिक सुरक्षा, पारिवारिक सुरक्षा, श्रम ऐन कार्यान्वयनको बिषयमा ध्यान दिनु पर्छ ।
नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा पूर्व मजदुर नेता अरुण श्रेष्ठले संसार पसिनाबाट नै निर्माण हुने भन्दै सम्पूर्ण मजदुरहरुलाई शुभकामना दिए । उनले यो गठबन्धन उखानेहरुको बिरुद्ध  मजदुरहरुको हक हितका लागि भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले मजदुरहरुको हक अधिकारका लागि लडिरहेका मजदुरको कार्यक्रममा नेपाली काँग्रेसको ऐक्यबद्धता रहेको बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ झापाका संयोजक सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सजेश शिवाकोटी, अर्जुन कार्की, कृष्ण ढुंगेल, सन्तोष उप्रेती , दिवाकर प्रसाईं, रमेश चौधरीसहित सयौँ मजदुरहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार