बिर्तामोड ९ मा गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा संयुक्त गठबन्धनको प्रचारप्रसार समितिको कार्यालय उद्घाटन भएको छ ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार भोजराज सिटौला र उपमेयरका उम्मेदवार सीपी कडरियाले संयुक्तरुपमा सो कार्यालयको उद्घाटन गरे । बिर्तामोड ९ मा गठबन्धनका तर्फबाट ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै माया पुलामी र कौशिला सिटौला संयोजक भएको ७१ सदस्यीय महिला परिचालन समिति, राजु डाँगी र दावा तामाङ संयोजक भएको ७५ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । बिर्तामोड ९ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा मोहन सुब्बा, सदस्यमा श्रीप्रसाद पाठक, गोबिन्द राजवंशी, महिला सदस्यमा चन्द्रकला तामाङ र दलित महिला सदस्यमा नानीमाया लकान्द्रीले उम्मेदवारी दिएका छन् । बिर्तामोड ९ मा गठबन्धनको घरदैलो कार्यक्रम जारी रहेको छ । शनिबार कोलाटोली हुँदै धनबीर कामतको घरसम्म घरदैलो गरिएको वडाध्यक्षका उम्मेदवार सुब्बाले बताए ।
प्रचारप्रसार समितिका संयोजक नवीन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार सिटौला र उपमेयरका उम्मेदवार कडरियाले गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।