२०८३ बैशाख १८ गते , शुक्रबार

एमाले बिर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १५ गते , विहीबार
एमाले बिर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिक

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धता पत्र नगर कमिटीले विहिबार सार्वजनिक गरेको हो ।
कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बनाइएको घोषणा पत्रमा १७ वटा बुँदा समेटिएको छ । प्रविधिको प्रयोगलाई जोड दिइएको घोषणा पत्रमा किशोरीलाई आत्मरक्षाका लागि तालिम दिइनेसम्मका बिषय समेटिएका छन।
एमालेले साझेदारीमा नगर विकासको अवधारणालाई अगाडि सारेको छ । उसले नगर विकासका लागि अन्तर्राष्ट्रिय प्रयोगमा आएको जनाउँदै आठ विकासका मोडेल प्रस्ताव गरेको हो ।
प्रतिवद्धता पत्रमा माछामासु, अण्डा, दूध तथा दुग्धजन्य पदार्थमा नगरलाई आत्मनिर्भर बनाउने, ब्यवसायीक कृषकलाई अनुदान दिनेदेखि हाल चालु रहेको बृहत् खेतीको कार्यक्रमलाई निरन्तरता दिनेसम्म उल्लेख छ ।
माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने, शिक्षक तालिम केन्द्र स्थापना गरि सामुदायिक विद्यालयका शिक्षकलाई बर्सेनि पुनर्ताजगी तालिम दिने, क्याम्पस परिसर र विशेष सार्वजनिक स्थलहरुमा निशुल्क वाईफाईको ब्यवस्था मिलाउने जस्ता बिषय घोषणा पत्रमा समेटिएको छ ।
बिर्तामोड ३ मा रहेको नगर अस्पताललाई सुरक्षित प्रसुती गृहसहितको ५० शैयाको बनाउने, नगर अस्पतालमा मृगौलाका रोगीहरुका लागि डायलाइसिस सेवाको ब्यवस्थापन गरि ५० वटा अक्सिजन सिलिण्डर ब्यवस्था गर्ने योजना अघि सारेको छ ।
उद्योगी व्यापारी र ब्यवसायीका लागि विपत राहत कोष् स्थापना गरि संचालन गर्ने, ब्यवसायीलाई अनलाइन मार्केटिङका लागि प्रोत्साहन गर्ने, उत्पादित वस्तु बजारीकरणका लागि उद्योग तथा व्यापार प्रवर्धन केन्द्र स्थापना गर्ने जस्ता विषय घोषणा पत्रमा उल्लेख छ ।
इन्ट्रानेट प्रणालीमार्फत नगरका सबै सेवा क्षेत्रलाई एउटा सिङ्गल नेटवर्कमा तत्काल राखी नगर तथा वडाका सेवालाई एकीकृत सफ्टवेयर सिस्टममार्फत दिइने, रियल टाइमको विकास गर्न डाटा सेन्टर बनाउने, सबै सिफारिस लगायतका कामहरु अनलाइनबाट गरिने ब्यवस्था गर्ने आदि उल्लेख छ ।
घोषणा पत्रमा नगर रिङरोड, नगर विपन्न आवास, अदुवाखोला करिडोर निर्माण, डोमालाल राजवंशी रंगशाला स्तरोन्नति, औधोगिक करिडोर निर्माण गर्ने लगायत महत्वाकांक्षी नगर गौरवका आयोजनापनि प्रतिबद्धता पत्रमा एमालेले समावेश गरेको छ । 

सम्बन्धित समाचार