इलाममा १४५६ जनाले गराए मनोनयन दर्ता
इलाम । स्थानीय तह निर्वाचन २०७९ का लागि इलाममा एक हजार ४५६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख पदमा ५९ र उपप्रमुख पदमा ४४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
इलामको १० पालिकामध्ये प्रमुख पदमा सबैभन्दा बढी माई नगरपालिका र चुलाचुली गाउँपालिकामा ९/९ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । इलाम नगरपालिका, रोङ र सन्दकपुरमा ६/६ जना, देउमाइ, फाकफोकथुम र सूर्योदयमा ५/५ जना र माइजोगमाई र माङ्सेबुङमा ४/४ जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपप्रमुख पदमा सबैभन्दा कम माङ्सेबुङमा २ जनाको उम्मेदवारी परेको छ । इलाम नगरपालिकामा ७, चुलाचुलीमा ६, देउमाई, फाकफोकथुम र सूर्योदयमा ५/५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै माइ र रोङमा ४/४ जना, माइजोगमाई र सन्दकपुरमा ३/३ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाको ८१ वडाका लागि वडाध्यक्ष पदमा ३३४ जनाले उम्मेदवारी दिएका छन् । सदस्यमा ५५२ जना, महिला सदस्यमा २५१ जना र दलित महिला सदस्यमा २१६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।