लेटाङ घटना प्रकरण : गोली लागेर महिला प्रहरीको मृत्यु भएको रिपोर्ट सार्वजनिक
काठमाण्डौ । एक जना महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ । यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो ।
गत चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आमइन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको थियो । ‘घटना भएको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले भने । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन ।
हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइफायर भएको थियो । तर, विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसकेको बताइएको छ ।
प्रहरीले घटनामा संलग्न ६३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्ने अन्तिम तयारी गरेको छ ।