प्रतिगमन परास्त गर्न गठबन्धन एकजुट
बिर्तामोड । झापामा रहेका सत्तारुढ गठबन्धन दलहरु प्रतिगमन परास्त गर्न एकजुट देखिएका छन् । गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध एकजुट भएर लाग्ने सहमति गरेको हो । उनीहरुले स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छन् ।
बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पुर्याउनेसमेत निर्णय गरेको छ ।
वैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्ने विषयमा बैठकमा घनिभूत र महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी -सन्देश), संविधानसभा सदस्य मोहन टुडु -सरोज), नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र झापाका सहइञ्चार्ज सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य -अग्नि), जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई लगायतको सहभागीता रहेको थियो ।