प्रेस चौतारीका केन्द्रीय सदस्य पौडेलद्वारा पदत्यागको घोषणा
बिर्तामोड । नेकपा एमालेका संगठित सदस्य एवम् पार्टी निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले पदत्याग गरेको घोषणा गरेका छन् । पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी पदत्याग गरेको घोषणा गरेका हुन ।
वि.सं. २०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यसमेत रहेका उनले जारी गरेको विज्ञप्तिमा ‘नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवम् लोकतान्त्रिक विधि र नीतिको पालनामा देखाएको उदासिनता एवम् व्यक्तिवाद हावी भएका कारण यो पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आर्जका मितिबाट नेकपा एमालेका सदस्य एवम् प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने व्यहोरा स्पष्ट पार्दछु’ उल्लेख गरेका छन् । उनले आगामी दिनमा विधि, पद्धति, नीति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका निमित्त क्रियाशिल रहने उद्घोष समेत गरेका छन् ।
मेचीनगर ६ झापा निवासी पौडेल जनसंसद अनलाइन न्यूज पोर्टल प्रकाशक संस्था मेचीनगर अनलाइन मिडिया प्रा.लिका अध्यक्ष/प्रबन्ध निर्देशक हुन ।