मेचीदेखि कोशी पुलसम्म सीसी क्यामेरा जडान गरिने
विराटनगर । प्रदेश १ सरकारले मेची पुलदेखि कोशीको पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । उनका अनुसार सीसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौं ।’