आज सर्वदलीय बैठक बस्ने
काठमाण्डौ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।
यता सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग पनि छलफल गर्ने भएको छ । स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ुनिर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ । संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका थिए ।