कन्काई बहुउद्धेश्यीय आयोजना : चुरे संरक्षण क्षेत्रबाट १ लाख रुख काटिने, सानिमा जलविद्युत डुब्ने
झापा । कन्काई बहुउद्धेश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो ।
प्रस्तावक, विद्युत विकास विभागले नेपालको प्रदेश नम्बर १ का ईलाम जिल्लाको माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, ईलाम नगरपालिका र झापा जिल्लाको शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका र चुलाचुली गाउँपालिकामा कन्काई बहुउद्धेश्यीय आयोजना पहिचान गरिएको छ । विद्युत विकास विभाग र परामर्शदाता जीइओसीइ कन्सल्ट्यान्ट्स प्रालि, सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालि र बिम कन्सल्ट्यान्ट प्रालि बिच सन् २०१७ जुन १२ गते सम्झौता भएको थियो ।
कन्काई बहुउद्धेश्यीय आयोजना ईलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको वडा नं. ३, ४ र ५, माई नगरपालिकाको वडा नं. १, २,३,४, ५, ६, ७, ८, ९ र १०, देउमाई नगरपालिकाको वडा नं. ७ र ९, ईलाम नगरपालिकाको वडा नं. ११ चुलाचुली गाउँपालिका वडा नं. १, २ र ३, र झापा जिल्लाको शिवसताक्षी नगरपालिकाको वडा नं. ९, १० र ११, कन्काई नगरपालिकाको वडा नं. १, २ मा रहेको छ ।
प्रस्तावित आयोजना बहुउद्धेश्यीय आयोजना हो जसअन्तर्गत जलविद्युत आयोजना, बाढी नियन्त्रण, पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली आयोजनाहरु पर्दछन् । जलविद्युत आयोजना जलाशय प्रकारको आयोजना हो । जलविद्युत आयोजना, बाढी नियन्त्रण, पानी परिवहन, माछा पालन, पर्यटन क्षेत्रको विकास, सिँचाइ प्रणाली प्रस्तावित आयोजनाका मुख्य अवयवहरु हुन् । जलविद्युत आयोजनाले ६० मेगावाट विद्युत उत्पादन गर्छ भने सिँचाइ प्रणालीले ५१,७५० हेक्टर जग्गा सिँचाइ गर्दछ ।
प्रतिवेदन अनुसार जलविद्युत आयोजनाको डिजाईन डिस्चार्ज १०२ घनमिटर प्रति सेकेण्ड, नेट हेड ६७ मिटर रहेको छ । यस जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३०२.८७ गिगावाट आवर ९वर्षा याम (१८५.४१ गिगावाट आवर, सुख्खा (११७.४६ गिगावाट आवर) रहेको छ । आयोजनाको निर्माण र संचालनले प्रस्तावित क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक र साँस्कृतिक वातावरणमा प्रतिकूल प्रभाव पार्नेछ । भौतिक प्रभावमा त्यस क्षेत्रको जमिन उपयोगमा आउने परिवर्तन मुख्य प्रभाव हो भने पूर्वाधारको संरचनाले सर्वसाधारण र सरकारको केहि निश्चित जग्गा अतिक्रमण गर्ने छ । आयोजनाका विभिन्न संरचनाहरुको निर्माणका लागि कुल ५६४५ हेक्टर जग्गा आवश्यक पर्नेछ जसमध्ये ५६३० हेक्टर स्थायी रूपमा १५ हेक्टर अस्थायी रूपमा प्रयोग गरिनेछ । कुल ५६३० हेक्टर स्थायी जग्गा मध्ये ४९३९।६१ हेक्टर सरकारी जग्गाबाट र ६९०.३९ हेक्टर निजी जग्गाबाट प्रयोग गरिनेछ । १५ हेक्टर अस्थायी जग्गा मध्ये १० हेक्टर सरकारी जग्गाबाट र ५ हेक्टर निजी जग्गाबाट प्रयोग गरिनेछ । यस आयोजनाका लागि कुल ४९४९.६१ हेक्टर सरकारी जग्गा आवश्यक पर्नेछ जस मध्ये ४९३९.६१ हेक्टर (१२०१.८) हेक्टर सामुदायिक वन क्षेत्रबाट, ११६.६८ हेक्टर सरकारी वनबाट, १६२१.६३ हेक्टर डिभिजन वन कार्यालय अन्तर्गतको खोलाको बगरबाट र १९९९.५० हेक्टर ९४६.४४ हेक्टर संस्थाहरु, ६८९.४२ हेक्टर कित्ताकाट भएको र १२६३.६४ कित्ताकाट नभएको सरकारी ऐलानी जग्गाबाट) स्थायी रूपमा र १० हेक्टर डिभिजन वन कार्यालय अन्तर्गतको खोलाको बगरबाट अस्थायी रूपमा प्रयोग गरिनेछ ।
यस आयोजनाका लागि स्थायी र अस्थायी दुबै रूपमा निजी जग्गा प्रयोग गरिनेछ । कुल ६९५.३९ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ जस मध्ये ६९०.३९ हेक्टर स्थायी रूपमा र ५ हेक्टर अस्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाका लागि (चुरे संरक्षण क्षेत्र) बाट कुल ११५,६३१ (८१,६४४ पोल र ३३,९८७ रुख) वटा विभिन्न प्रजातिका रुखहरु काटिनेछन् । कुल ११५,६३१ रुखहरुमा इलामबाट ११२,९१० र २,७२१ झापाबाट काटिनेछन् । इलामबाट काटिने ११२,९१० रुखहरुमा, १०४,७६३ (७३,३१३ पोल र ३१,४५० रुख) रुखहरु सामुदायिक वन क्षेत्रबाट काटिनेछन् भने सरकारी वनबाट ८,१४७ (६,०२२ पोल र २,१२५ रुख) रुखहरु काटिनेछन् । झापाको सरकारी वनबाट २,७२१ (२,३०९ पोल र ४१२ रुख) रुखहरु काटिनेछन् । त्यसैगरि, आयोजनाबाट ७५१,६०२ रुखको बेर्ना प्रति हेक्टरर २८९,०७८ रुखको लाथ्राको क्षति हुनेछ । त्यसैगरि इलामको ४८९२.६१ हेक्टरसरकारी जग्गा (चुरे संरक्षण क्षेत्र) प्रयोग गरे बापत आयोजना क्षेत्र वरिपरी सोही जिल्लामा जग्गा सट्टाभर्ना गरिनेछ र सो जग्गामा क्षतिपूर्ति स्वरुप १६०० प्रति हेक्टरको दरले ७,८२८,१७६ रुखको विरुवाहरु इलाम जिल्लाको तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ । त्यसैगरि झापाको ५७ हेक्टरसरकारी जग्गा (चुरे संरक्षण क्षेत्र) प्रयोग गरे बापत आयोजना क्षेत्र वरिपरी सोही जिल्लामा जग्गा सट्टाभर्ना गरिनेछ र सो जग्गामा क्षतिपूर्ति स्वरुप १६०० प्रति हेक्टरको दरले ९१,२०० रुखको विरुवाहरु झापा जिल्लाको तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ । त्यसैले कुल ४९४९.६१ हेक्टर सरकारी जग्गा (चुरे संरक्षण क्षेत्र) प्रयोग गरे बापत कुल ७९,१९,३७६ रुखको विरुवाहरु तोकिएको स्थानमा वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार आयोजनाको लागि इलामबाट काटिने ११२,९१० रुखहरुको सट्टामा १ः१० अनुपातमा २,८२२,७५० रुखको विरुवाहरु इलाम जिल्लाको तोकिएको स्थानमा र झापाबाट काटिने २७२१ रुखहरुको सट्टामा १ः१० अनुपातमा ६८,०२५ रुखको विरुवाहरु झापा जिल्लाको तोकिएको स्थानमा तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ । त्यसैले आयोजनाको लागि चुरे संरक्षण क्षेत्रबाट काटिने ११५,६३१ रुखहरुको सट्टामा १ः१० अनुपातमा २८,९०,७७५ रुखको विरुवाहरु तोकिएको स्थानमा वृक्षारोपण गरिनेछ । यसरी लगाईएका रुखहरुको आयोजनाले ५ वर्ष सम्म रेखदेख गरि सम्बन्धित व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछ । यस आयोजनामा माई नगरपालिकाको ३५९७ घरधुरीहरू प्रभावित हुनेछन जसमध्ये ८४७ घरधुरी आयोजनाबाट प्रभावित परिवार अन्तर्गत पर्दछन् र २७५० घरधुरी आयोजनाबाट अति प्रभावित परिवार अन्तर्गत पर्दछन् ।
प्रतिवेदनमा उल्लेख भए अनुसार आयोजनाले गर्दा १५९७.९७ मेट्रिक टन धान, ४४५ मेट्रिक टन गहुँ, १२०.२९ मेट्रिक टन मकै ह्रास हुनेछ । त्यसैगरि ४३३८.१७ मेट्रिक टन चिया, २०००० बन्डल निगालो, ३००० गोटा बाँस, २१.६०१ मेट्रिक टन प्रति हेक्टर सुपारी, २३.२१ मेट्रिक टन तोरी, ७५०० केजी सागसब्जी, ६६५० केजी फलफुल र १४.६६३ मेट्रिक टन गेडागुडी नोक्शानी हुनेछ । निजी जग्गाबाट १५४०७ रुखहरु (पोल १०७८५ र रुख ४६२२) काटिने छन् । व्यक्तिगत स्वास्थ्य र सुरक्षा, खोलामा पानीको बहाव घट्नाले स्थानीयलाई पर्न सक्ने प्रभाव, आयोजना निर्माणको समयमा मानिसहरूको चहलपहलमा हुने वृद्धिले पर्ने प्रभाव, सार्वजनिक सेवा र संरचनामा दबाव बढ्न सक्ने मुख्य सामाजिक प्रभावहरू हुन् । आयोजना निर्माण तथा सञ्चालनका क्रममा केही कामदारले स्थायी रूपमा रोजगारी पाउनेछन् । आयोजना निर्माण गर्दा बढेको आर्थिक स्थिती आयोजना सञ्चालन अवधिमा घट्नेछ जसले गर्दा स्थानीय उत्पादनको बिक्री वितरण घट्नेछ । यसले गर्दा स्थानीय स्तरमा विभिन्न आर्थिक क्रियाकलापहरूमा परिवर्तन आउनेछ ।
आपटार, किपाते, तामाखे, धोन्द्रे, खैरेनी, भानटार, कपरसुक, फूलबारी धापड, मुसेखोला गाँउ, मुसेटार, भलायोटार, लेबार टोल, तितर, चिलिङकोट, धनसार, गोलटार, सितली, गरुवा, सिङदालिटार, कामीटार, कट्टेलटार, तुङ्गानिटार, लक्ष्मीखोला गाँउ, फूलबारी, माझबारी, मस्ते, डिपुडाँडा, विस्नेटार, बाघेचौरी, बाघेचौरी, कल्कते, धकानेगाँउ, गरुवा शुक्रबारे, चम्कीडाँडा, धकाने गाँउ, भट्भटे, बडारे, सिम्ले, नेप्टी, डुडुङ्गे, चेप्टिगाउँ, लालजोडा, सुनजोडा, सिस्नेगाँउ, पुर्वी डुवान, हात्तिबेन, झण्डिडाँडा, पूर्वी झोला, कुसुमेटार जलाशयले डुबानमा पर्ने क्षेत्रहरु हुन् ।
आयोजनाले गर्दा २४ वटा स्कुलहरु, दानाबारी स्वास्थ्य चौकी र माई अस्पताल, चन्डाल घाट, कोदावरी तिरतिरे घाट, लोदिया घाट र लक्ष्मी खोला घाट डुब्नेछ । त्यसैगरि आयोजनाले गर्दा निर्माणाधिन सिंचाई आयोजना डुब्नेछ र सानिमा जलविद्युत क्यास्केड, ७ मेगावाट र विद्युतीय पोलहरु डुब्नेछ । शुक्रबारे, सितली, विहिबारे र मङ्गलबारे बजारहरु, कच्ची बाटो, ग्राभेल बाटो, निकास सातवटा कंक्रीट पुलहरु, चारवटा झोलुङ्गे पुलहरु, २७५० घरहरु, १८ वटा मन्दिरहरु, १० वटा चर्चहरु, तीनवटा पुलिस स्टेशनहरु, १० वटा चामलको मिलहरु, चारवटा फर्निचरहरु, १४ वटा टेलरिङहरु, सातवटा हस्तकलाहरु, १५ वटा लोहारहरु, दुईवटा दुधको डेरीहरु, एउटा बेकरी डुब्नेछन् । कन्काई नदी जलविद्युत आयोजनाको माथिल्लो तटीय क्षेत्रमा सानिमा जलविद्युत क्यास्केड, ७ मेगावाट रहेको छ ।