सरकारले खरिद गरेको मल एक बर्षदेखि भन्सारमा अलपत्र
विरगञ्ज । सरकारले किसानको लागि ल्याएको रासायनिक मल विरगञ्ज भन्सारमा अलपत्र छाडिएको छ । कृषक मल नपाएर छट्पटिरहेको भएपनि ७ हजार मेट्रिक टन मल गुणस्तरहीन भएको भन्दै एक वर्षदेखि भन्सारमा अलपत्र रुपमा फालिएको हो ।
गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा विरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।
सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकता बन्दरगाहमा बङ्गालको खाडीमा आएको ‘अम्फल’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र रुपमा छाडिएको छ ।
ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ ।
अलपत्ररुपमा फालिएको मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाहमा २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो । सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्ररुपमा कामै नलाग्ने गरि फालिएको छ । यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् ।