खुदुनाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
बिर्तामोड । अर्जुनधारा नगरपालिकाको खुदुनाबारी चोक नजिक भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेतिर अर्जुनधारा २ खुदुनाबारीस्थित झेलेनी र फाल्गुनन्द चोकको बीच सडकमा मे ४ प २८१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
खुदुनाबारीबाट शनिश्चरेतर्फ तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मृतकको साथबाट अर्जुनधारा ६ बस्ने जंगबहादुर तामाङको छोरा बर्ष ३० को निरज तामाङ नामको नागरिकता फेला परेको थापाले जानकारी दिए । दुर्घटनाबाट मोटरसाइकलमा धेरै क्षति पुगेको छ । मोटरसाइकल अस्थायी प्रहरी पोष्ट खुदुनाबारीमा राखिएको र कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको थापाले बताए । मृतकको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ ।