बिर्तामोड खानेपानीमा ५ वटा बोरिङ थप, खानेपानी अभाव नहुने
बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी अभाव हुन नदिन पाँच वटा बोरिङ थप गरेको छ । संस्थाले २४सै घण्टा खानेपानी वितरणमा समस्या आउन नदिन चार स्थानमा पाँच वटा बोरिङ थप गरेको हो ।
‘हामीले ५ वटा बोरिङ थप गरेका छौँ,’ संस्थाका अध्यक्ष मेघराज बास्तोलाले भने, ‘जस्तो सुकै अवस्थामा अब बिर्तामोडमा खानेपानी अभाव हुँदैन, २४सै घण्टा पानी आपूर्ति गर्न हामी सक्षम छौँ ।’ संस्थाले तीन स्थानमा निशुल्क र एउटा ठाउँमा जग्गा खरिद गरेर बोरिङ गाडेको अध्यक्ष बास्तोलाले जानकारी दिए । बिर्तामोड–३ स्थित मेहेरमान कबर्ड हल परिसरमा २ वटा, टेकबहादुर गिरी बसपार्कमा मानव धर्म सेवाको जग्गामा एउटा, बिर्तामोड–३ को भरत विश्रान्ति आश्रम परिसरमा एउटा निशुल्क र अर्जुनधारा–६ स्थित २ नं. खानेपानी ट्याङ्की परिसरमा ४२ लाखमा ११ धुर जग्गा खरिद गरी एउटा बोरिङ गाडिएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
संस्थाले उपभोक्ताको सहजताका लागि अनलाइनबाटै बिल भुक्तानी गर्ने व्यवस्था मिलाउनुका साथै पानी चुहावट भएको स्थान कम्प्युटरमा बसेर अफिसबाटै जानकारी लिने गरी प्रविधी जडान गरिएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको पानी बिर्तामोड खानेपानी संस्थाले वितरण गरिएको अध्यक्ष बास्तोलाको भनाई छ ।
विभिन्न योजना निर्माणको क्रममा खानेपानीको वितरण पाइपमा क्षति पुग्ने र ठेकेदार जिम्मेवार नबन्दा संस्थालाई समस्या हुने उनले बताए । अहिले एसियन हाइवे विस्तारको क्रममा खानेपानीका पाइपमा थुप्रै स्थानमा क्षति पुगेको उनको भनाई छ ।
बिर्तामोड खानेपानी संस्थाले पूर्वमा बसपार्क, पश्चिममा बेलडाँगी तलसम्म, उत्तरमा महानन्द चोकदेखि दक्षिणमा गरामनी बजारसम्मका १० हजार घरधुरीमा पानी वितरण गरिरहेको छ । पश्चिममा चैतुबारीसम्म पाइप विस्तारको तयारी भइरहेको बास्तोलाले जानकारी दिए ।