मुख्य सचिव अर्याल निलम्बित, निमित्तको जिम्मेवारी गड्तौलालाई
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।
मुख्य सचिव अर्याल २०८० साल जेठ ३२ गते मुख्य सचिवमा नियुक्त भएका थिए ।
मुख्य सचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिव सम्हाल्दै छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव रहेकी छिन् ।