स्नेहा माया घरमा मनाए प्रसाईले जन्मदिन
बिर्तामोड । झापा बिर्तामोडका एक युवाले फरक तरिकाले आफ्नो जन्म दिन मनाएका छन् । १८ बर्षीय एलिस प्रसाईले वृद्धवृद्धालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् ।
प्रसाईले शुक्रबार बिर्तामोड नगरपालिका–४ स्थित गुरु प्रसाद–डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहा माया घरमा रहेका वृद्ध बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । उनले वृद्धाश्रमसंगै रहेको तारा नमस्ते बाल आश्रममा समेत फलफुल वितरण गरेका थिए ।
प्रसाईले गुरुप्रसाद–डिकमाया फाउन्डेसनमा नगद तीन हजार, फलफुल तथा तारा नमस्ते बाल आश्रममा फलफुल वितरण गरेको प्रसाईले बताए ।
‘जन्मदिनमा फजूल खर्च गर्नु भन्दा बाल तथा वृद्धाश्रममा थोरै भएपनि सहयोग गर्न सकियो भने आशिर्वाद पाइन्छ भनेर त्यहाँ मनाएको हुँ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने इच्छा छ ।’
उनले विशेष अवसरमा फजुल खर्च गर्नुभन्दा कसैलाई सहयोग गर्न सकियो भने आनन्द हुने भन्दै आफ्ना साथीहरुलाई समेत त्यस्ता अवसरमा परोपकारी काम गर्न आह्वान गरे ।
प्रसाईलाई फाउण्डेसनका अध्यक्ष गुरुप्रसाद ओझा तथा आश्रित वृद्ध बुवाआमाहरुले टीका लगाएर आशिर्वाद दिएका थिए । बालआश्रमका सञ्चालिका यशोदा चापागाईले प्रसाईलाई जन्म दिनको शुभकामना साथै सहयोग गरेकोमा धन्यवाद दिइन् ।