बालबालिकालाई हेल्मेट लगाइदिएर शुरू भयो ट्राफिक सप्ताह
बिर्तामोड । आजबाट कोशी प्रदेशभर ट्राफिक सप्ताह शुरू भएको छ । झापाको बिर्तामोडमा समेत एक कार्यक्रमका बीच बालबालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह शुरू गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रम उद्घाटन गरेका हुन् ।
विभिन्न व्यानरसहित निस्किएको प्रभातफेरी विर्ता पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
नेपालमा मानिसहरूले अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुघर्टना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा 'सातै दिन सातै काम' नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।
एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर २ गण १ वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारालीका प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु न्यौपाने नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराजगिरी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।