रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या २५ पुग्यो
झापा । रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या २५ पुगेको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएसँगै मृत्यु हुने नेपालीको संख्या २५ पुगेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यो तथ्याङ्क जेठ २० सम्मको हो ।
नेपाल सरकारले लगातार प्रयास गरिरहे पनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती भएका छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्यांक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले रुसी सरकारलाई पटक–पटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ नदिएको हो ।
सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । सोही विषयलाई लिएर उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत फागुन २४ मा रुसी विदेशमन्त्री सर्गेर्ई लाभ्रोभसँग टेलिफोन संवाद गरेका थिए ।
कुराकानीमा पनि रुसी पक्षसँग उनले युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, घाइते भएका र रुसी सेनामा भर्ना भएकालाई फिर्ता पठाइदिन, नेपालीलाई रुसी सेनामा भर्ती नगर्न, रुसी सेनामा भर्ती भएका नेपालीको संख्या नेपाल सरकारलाई जानकारी दिन, रुसी सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा परेकाको जानकारी तथा उच्च तहको भ्रमण मिलाउन आग्रह गरेका थिए । तर रुसी विदेशमन्त्री लाभ्रोभले युद्धका क्रममा मारिएका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा चर्चा गर्न चाहेनन् ।
रुसी सेनामा भर्ती भई युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीको अवस्था अहिले पनि अज्ञात छ । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने छन् । उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन ।
