२०८३ बैशाख २० गते , आईतबार
कोशीका प्रमुख नदीहरुमा पानीको सतह बढ्यो
बिर्तामोड । कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा पानीको सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, कन्काई र यसका सहायक नदीको जल सतह सामान्य बढ्ने छ ।
कोशी प्रदेशमा मनसुन भित्रिएको घोषणा गर्नुभन्दा अघिदेखि नै भारी वर्षा हुँदै आएको थियो । वर्षासँगै रतुवा नदीमा आएको बाढीले कार बगाउँदा दुई जनाको मृत्यु भएको थियो । कोशी प्रदेशमा वर्षा भइरहँदा त्योभन्दा पश्चिम तराईका भूभागमा भने अत्यधिक गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार मनसुन फैलिँदै पश्चिमसम्म पुग्न करिब एक साता लाग्ने अनुमान छ ।
मनसुन भित्रिएसँगै यसबाट हुने क्षतिको न्यूनीकरणका लागि सतर्क रहन विभागले आग्रह गरेको छ ।