कम बेरुजु भएको झापा गाउँपालिकामा भ्रमण भत्तामा १० लाख ६९ हजार खर्च
बिर्तामोड । झापा गाउँपालिकाले कर्मचारी तथा पदाधिकारीको दैनिक भ्रमण भत्तामा मात्र १० लाख ६९ हजार खर्च गरेको पाइएको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्लाकै कम बेरुजु भएको भनिएको सो पालिकाले उक्त आवमा दैनिक भ्रमण भत्तामा मात्र सो रकम खर्च गरेको हो ।
झापा गाउँपालिकाले पालिका वा कार्यालयसँग असम्बन्धित कर्मचारीहरुलाई समेत दैनिक भ्रमण भत्ता भुक्तानी गर्ने गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । भ्रमण पश्चात तोकिएबमोजिम भ्रमण प्रतिवेदन पेश नगरी अधिकांश भ्रमणको खर्च भुक्तानी गर्ने गरेको र स्पष्ट प्रयोजन बेगर कर्मचारी पदाधिकारीको ७ दिनको भ्रमण आदेश स्वीकृत गरी भुक्तानी गर्ने गरेको भन्दै महालेखाले सैद्धान्तिक बेरुजु भएको उल्लेख गरेको हो ।
नायव महालेखापरीक्षक श्रीकुमार राईका अनुसार स्पष्ट प्रयोजन र उद्धेश्य बेगर अधिकांश भ्रमण खर्च भुक्तानी गरेको अवस्थाबाट भ्रमण खर्च भुक्तानीमा दुरुपयोगको सम्भावना रहेको छ ।
त्यस्तै झापाले अध्ययन अवलोकनमा ५ लाख ३९ हजार रुपैँया खर्च गरेको छ । गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ (क) मा गाउँपालिकाको जनप्रतिनिधिहरूलाई भ्रमण भत्ता उपलब्ध गराउने व्यवस्था छ र कर्मचारीलाई भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण भत्ता उपलब्ध गराउने व्यवस्था छ । कानुनमा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि अध्ययन अवलोकन भ्रमणको लागि छुट्टै व्यवस्था नगरेको महालेखाले जनाएको छ ।

अवलोकन भ्रमण खर्च बुझिलिनेहरु
पालिकाले सवारी साधन मर्मत र इन्धनमा समेत ठूलो रकम खर्चिएको छ । एक बर्षको सो अवधिमा पालिकासँग रहेको ४ पाङ्ग्रे २ थान र दुई पाङ्ग्रे १९ थान सवारीमा २७ लाख ३० हजारको इन्धन हालेको छ । पालिकाले इन्धन माग फारम पाम्स प्रणालीमार्फत गर्नु पर्नेमा सो बमोजिम नगरी खर्च गर्ने गरेको पाइएको हो ।
त्यस्तै सो संख्यामा सवारी साधन मर्मतमा १८ लाख ३१ हजार रुपैँया खर्च गरेको छ । अधिकांश सवारी मर्मत गर्दा लागत अनुमान तयार नगरी खर्च गरेको भन्दै महालेखाले सैद्धान्तिक बेरुजु भएको जनाएको छ ।
मेचीनगर बाहेक झापाका १४ पालिकामध्ये झापा गाउँपालिकामा गत आवमा सबैभन्दा कम बेरुजु देखिएको थियो । झापामा ०.५७ प्रतिशत बेरुजु रहेको छ ।
झापा गाउँपालिकाको हालसम्मको अद्यावधिक बेरुजु ४ करोड ४७ लाख २० हजार रुपैँया रहेको छ ।