दमकको भ्यू टावरलाई मेडिकल कलेज बनाऔँ - आङ्बो
बिर्तामोड । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले दमकको भ्यू टावरलाई मेडिकल कलेज बनाउन प्रस्ताव गरेका छन् । कोशी प्रदेश सभामा बोल्दै आङ्बोले अर्बौंको लगानीमा निर्मित भ्यू टावर प्रयोग विहिन रहेको अवस्थामा त्यस्तो धारणा राखेका हुन् ।
जेठ २१ गते कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा आङ्बोले अर्बौंको लगानीमा निर्मित उक्त भ्यू टावर प्रयोगमा ल्याउन प्रस्ताव गरेका हुन् । ‘मेची अस्पताललाई प्रतिष्ठानको माध्यामबाट मेडिकल कलेजको रूपमा विकास गर्नतिर लाग्नुपर्छ । दमकमा भ्यू टावर तत्काल उपयोग हुने देखिँदैन । त्यसलाई मेडिकल कलेज बनाउने तिर लाग्न आवश्यक छ,’ उनले भने ।
उनले प्रदेश सरकारमा रहेको स्रोत व्यवस्थापनको चुनौती हटाउन अनुत्पादक र चालु खर्च कटौती गर्नुपर्ने सुझाव दिए । राजश्वको दायरा फराकिलो बनाएर राजश्वमा बृद्धि गर्नुपर्ने र वित्तीय संघीयता अनुसार प्राप्त गर्ने अनुदान थप प्राप्त गर्न संघीय सरकारसँग पहल गर्नुपर्नेमा पनि आङ्बोले सुझाब दिए । नीति तथा कार्यक्रमले कृषि क्षेत्रको विकासलाई जोड गरेको भएपनि अझै ठोस गर्नुपर्ने आङ्बोले बताए । ‘कृषि निर्यातमा देशको ४० प्रतिशत हिस्सा हाम्रै प्रदेशको छ,’ उनले भने, ‘अलैंची, मासुजन्य र दूधजन्य पदार्थको अन्तराष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्छ । पर्यटनबाटै राजश्व वृद्धि गरि आर्थिक गतिविधि बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसको लागि नीतिगत रुपमा काम गर्नुपर्छ । संघीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ ।’