२०८३ बैशाख २० गते , आईतबार

माओवादी केन्द्र दमकले रोप्यो २० हजार बिरुवा

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २४ गते , विहीबार
माओवादी केन्द्र दमकले रोप्यो २० हजार बिरुवा

बिर्तामोड । नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण कार्यक्रमअन्तर्गत हालसम्म करिब २० हजार बढी विरुवा रोप्नुका साथै स्थानीयलाई वितरण गरेको छ। 
माओवादी केन्द्र कोशीले सुरु गरेको पुर्वेली संगठन सदृढीकरण अभियानलाई सिर्जनात्मक बनाउन वृक्षरोपण तथा बिरुवा वितरण अभियान थालिएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।
वृक्षारोपण तथा बिरुवा वितरण अभियान दुई साताअघि सुरु भएको उनले बताए। दमकमा एक वर्षभित्र एक लाख बिरुवा रोप्ने योजना रहेको उनले बताए। 'अभियानअन्तर्गत हालसम्म २० हजार बिरुवा रोप्ने र वितरण गर्ने काम गरियो,' उनले भने, 'बुधबार विश्व वातावरण दिवसको अवसरमा एकै दिन ६ हजार फलफूलका बिरुवा स्थानीयसँगै दमकका विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरेका छौँ ।'
माओवादी केन्द्रले दमक नगरवासीको घर-घरमा गएर बिरुवा रोप्दै आएको माओवादी केन्द्रका नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए। उनका अनुसार लिची, कागती तथा अन्य फलफूलका बिरुवा वृक्षरोपण तथा स्थानीयलाई वितरण गर्दै आइएको छ। 
'दमकमा १० वटा वडा छन्। हरेक वडामा पार्टीका दश/दशवटा टोल कमिटी पनि छन् । यही टोल कमिटीले प्रत्येक टोलमा आवश्यकताअनुसार वृक्षारोपण तथा वितरण गर्दै आएको छ,' उनले भने, 'पुर्वेली संगठन सदृढीकरण अभियानको कार्यक्रममा आउने सबै नेताले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै आउनुभएको छ।' 
अध्यक्ष बस्नेतले दमकलाई पाँच वर्षभित्र लिची र कागतीमा आत्मनिर्भर बनाउने योजनाअनुसार वृक्षारोपण अभियान अघि बढाइएको जानकारी दिए। 'दमकमा लिचीको सम्भावना अत्यन्तै छ। कागती पनि उसै गरी फल्छ। हामीले एक घर दुई बिरुवाको अभियान सञ्चालन गरेका छौँ। हामीले यी दुई फलफूललाई प्राथमिकता दिएका छौँ। अरू फलफूल पनि वितरणसँगै वृक्षारोपण त गरी नै रहेका छौँ,' उनले भने, ' लिची र कागती आँगनमा रोपिने भएकाले पनि यसको संरक्षण सहजै हुन्छ।'  
नेकपा माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गौतमले नागरिकको घरघरसँगै दमकका सरकारी कार्यालयहरूमा समेत वृक्षारोपण गरिँदै आएको बताए। यो अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको गौतमको भनाइ छ। 
'बिरुवा माग्दै आउने नागरिको संख्या उल्लेख्य छ। यसले हामीलाई अभियान सञ्चालन गर्न उत्साहित बनाएको छ,' उनले भने, 'भारतबाट आउने फलफूल विस्तापित गर्दै दमकलाई आत्मनिर्भर बनाउन हामी लागि पर्नेछौँ।'
वृक्षारोपण अभियानमा बिरुवा संकलनको जिम्मेवारी पाएकी नगर सचिवालय सदस्य समुन्द्रा लामाले पार्टीलाई जनतासँग जोड्ने यो एउटा अवसर भएको बताइन्। उनले विभिन्न संस्था तथा सरकारी निकायले बिरुवा उपलब्ध गराउन सहयोग गरिरहेको बताइन्।
विश्व वातावरण दिवसको अवसरमा बुधबार दमकमा वृक्षारोपण गर्न आइपुगेका नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दमक माओवादीले देशभर वृक्षारोपण गर्नुपर्छ भन्ने सन्देश दिएको बताए। 
यसले पार्टी कार्यकर्तामा ऊर्जा थप्नुका साथै नागरिकसम्म पार्टीलाई पुर्‍याउन मद्दत गरेको बताए। उनले विश्वको वातावरणमा नकारात्मक प्रभाव परिरहेका वेला जुनसुकै पार्टी र संस्थाले वृक्षारोपण गरे पनि सहयोग र समर्थन गर्नुपर्ने बताए। माओवादीको यो अभियानमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार