विपद् उद्वार अभ्यास सम्पन्न
बिर्तामोड । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणको संयोजनमा एकीकृत अभ्यास मनसुन-४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
आज झापाको मेचीनगर-१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन भएको हो ।
जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापासंगको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो ।
विपद पश्चातको खोज तथा उद्वार र पुनर्स्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदालाई विपद सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।
अभ्यासअन्तर्गत विपद पश्चात खोजी तथा उद्वार सम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले घाइतेहरुको उपचार र राहत वितरण सम्बन्धी प्रदर्शन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी एवम विपद व्यवस्थापन समिति झापाका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतको उपस्थिति थियो ।