तोकिएको मितिमा पत्रकार महासंघको निर्वाचन गर्न दबाब
बिर्तामोड । तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन ६ वटा संगठनले नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएका छन् । शनिबार एक संयुक्त प्रेस वक्तव्य जारी गरी अद्यावधिक सदस्यहरुको नामावली निर्वाचन समितिलाई तत्काल उपलब्ध गराई तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन उनीहरुले आग्रह गरेका हुन् ।
सदस्यहरुको अद्यावधिक नामावली नबुझाइएकै कारण हालसम्मपनि निर्वाचन कार्यतालिका प्रकाशन हुन नसकेको उनीहरुले वक्तव्यमा उल्लेख गरेका छन् । पत्रकार महासंघको केन्द्रिय नेतृत्वबाटै तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन अवरोध भइरहेको भन्दै उनीहरुले खेद व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष/संयोजकले जारी गरेको वक्तव्यमा २०८० चैत्र मसान्तमा समाप्त भइसकेको कार्यअवधि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने कार्य कुनैपनि बहानामा अवरुद्ध गर्ने कार्य नगर्न ४ बुँदे धारणासहित केन्द्रिय नेतृत्वको ध्यानाकर्षण गरकाएका छन् ।
नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनबाट केन्द्र, प्रदेश र शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन जेठ २६ गतेलाई तय भएको थियो ।
