सिक्किम आइपुगेको मनसुन नेपाल आइपुग्न ११ दिन लाग्ने
झापा । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।
विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ ।
यसपटक भने मनसुन सरदर मिति भन्दा चाँडै भित्रने मौसमविद्हरु बताउँछन् ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।
केहि रिपोर्ट अनुसार यो बर्ष गतको भन्दा अधिक बर्षात हुने सम्भावना रहेको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरुले पूर्व तयारीसमेत थालेको बताइएको छ । झापाको चारआलीस्थित अरिदमन गणले विपद् व्यवस्थापनका लागि जिल्लाका सुरक्षा निकायहरुसँगको समन्वय गरि तालिम सञ्चालन गरेको छ ।