आज जेठ १९ : विरेन्द्रको वंश नाश भएको दिन
झापा । तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश नाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । घटना भएको २३ बर्षसम्मपनि उक्त घटना रहस्यको गर्भमा रहेको छ ।
राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ । सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।