पत्रकारद्वय लक्ष्मीप्रसाद लुइँटेल र सञ्जु शिवाकोटी पुरस्कृत
बिर्तामोड । झापाली पत्रकारद्वय लक्ष्मीप्रसाद लुइँटेल र सञ्जु शिवाकोटी पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।
आईतबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच टंकप्रसाद रमादेवी स्मृति पत्रकारिता पुरस्कार लुइँटेल र रमादेवी टंकप्रसाद स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार शिवाकोटीलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे र कार्यक्रमका अध्यक्ष नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले उनीहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए । पुरस्कार राशी जनही नगद ११ हजार १११ रुपैयाँ रहेको छ ।
कार्यक्रममा सञ्चारिका समुह झापाकी अध्यक्ष लिला अनमोल, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस चौतारी झापा अध्यक्ष मनकुमार गदालले शुभकामना मन्तव्य राखेका थिए । आसन्न पत्रकार महासंघको निर्वाचनमा झापामा सर्वसम्मत नेतृत्व चयनका लागि अधिकांश वक्ताहरूले जोड दिएका थिए ।
पुरस्कृत व्यक्तित्वको तर्फबाट लक्ष्मीप्रसाद लुइँटेलले पुरस्कारले बढ्दो उमेरमा पनि हौसला प्रदान गरेको बताए ।
पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले पत्रकार महासंघपछि दोस्रो संगठनको रुपमा स्थापित नेपाल प्रेस युनियनको गौरवपूर्ण इतिहासको प्रसंशा गर्दै थुप्रै व्यवसायिक पत्रकारहरू जन्माउन सफल भएको बताए । पत्रकारिताको वर्तमान अवस्था समयसँगै बदलिएको बताउँदै नेतृत्व तहमा बस्नेहरूले आफूलाई त्यस अनुरूप बदल्न सक्नु पर्ने सुझाए । पत्रकारिता क्षेत्रमा एउटा इतिहास बोकेको झापाली पत्रकारिता समीक्षा गर्नुपर्ने बेलामा आइपुगेको बताए ।
नेपाल प्रेस युनियन कोशीका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले महासंघको चुनावमा विगतदेखि नै सर्वसम्मतको रटान हुँदै आएपनि सर्वसम्मत हुन नसकेको इतिहास रहेको बताए ।
केन्द्रीय सचिव रेजिना गौतमले महासंघलाई साझा बनाउन सबैले भूमिका खेल्नु पर्ने बताइन् । चुनावमा अनुशासन कायम गर्न सबै सदस्यहरूलाई आग्रह गरिन् ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले निर्वाचनको मिति नजिकिदाँसमेत सदस्यता टुङ्गोमा नपुग्दा चुनावी माहोल बन्न नसकेको बताए । आगामी आउने नेतृत्वले अहिलेको नेतृत्वले थालेको कामलाई पूर्णता दिन र महासंघको गरिमा कायम गर्नसक्ने नेतृत्व आउनुपर्ने बताए । नेतृत्व चयनका लागि सबै एकजुट हुन र साझा संस्था बनाउनसमेत उनले आग्रह गरे ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्य भएको एकमात्र संस्था भएको बताए । २०५८ सालमा प्रेस युनियनको दुई तिहाई बहुमत भएको समयमा पनि अन्य संगठनको सदस्यलाई पत्रकार महासंघको झापाको सभापति बनाएर लागेको इतिहास सम्झँदै विगतको निर्वाचनमा प्रेस सेन्टरसंग आलोपालो नेतृत्व गर्ने सहमति भएको खुलाए । प्रेस चौतारीको जिम्मेवार भएर आए सहमति र सहकार्य गर्न सकिने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि थेबेले लोकतन्त्रमा पत्रकारहरुको ठूलो योगदान हुने धारणा राखे । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनमा पत्रकार जगतले खेलेको अभूतपूर्व योगदानको थेबेले प्रशंसा गरे । सरकारले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयप्रति टिप्पणी गर्दै सबै पत्रकारले त्यसको विरुद्धमा कलम चलाउन आग्रह गरे । उनले नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा शुभकामनासँगै पुरस्कृत व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिए ।
निवर्तमान अध्यक्ष इन्दु पूर्बेलीले स्वागत गरेको कार्यक्रम सचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।