खाट सार्न नसघाएको निहुँमा चक्कु प्रहार
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मनकामना कलेज छेउमा डेरा गरी बस्ने एक युवकले सोहि घरमा डेरा गरी बस्ने अर्का वृद्धलाई चक्कु प्रहार गरेका छन् ।
आइतबार साँझ करिब ८ बजे २८ बर्षीय बरुण धिमालले ७० बर्षीय काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केहि दिन अघिमात्र सो घरमा डेरा बस्न थालेका धिमालले आफ्नो कोठाको खाट सार्न गौतमलाई सहयोग मागेको र गौतमले आफु वृद्ध भएकाले सहयोग गर्न नसक्ने बताएपछि र सोहि निहुँमा उनीमाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
चक्कु प्रहारबाट गौतमको पेटमा चोट लागेको र मध्यम अवस्थामा बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । चक्कु प्रहार गरी धिमाल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।