१० बुँदे घोषणापत्र जारी गर्दै सकियो मिडिया सम्मेलन
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौती विषयक मिडिया सम्मेलन सम्पन्न भएको छ । १० बुँदे घोषणापत्र जारी गर्दै झापाको कनकाईमा शनिबार सम्मेलन सम्पन्न भएको हो ।
कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा आयोजित मिडिया सम्मेलनमा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीसँगै डिजिटल पत्रकारिता: अवसर र चुनौती साथै पत्रकारिता र बिज्ञापनका बिषयमा समेत जानकारी गराइएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले सहजीकरण गरेको संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीका बिषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्भव अधिकारी, सूचना तथा प्रशारण बिभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, स्थानीय सरकार प्रमुख कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्यानल डिस्कशन गरेका थिए ।
त्यस्तै डिजिटल पत्रकारिता अवसर र चुनौती बिषयमा बिज्ञ अरुण कार्की र पत्रकारिता र बिज्ञापनका बिषयमा बिज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईले प्रस्तुती दिएका थिए ।
मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ । सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न, सम्मेलनमा श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वन, संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न, सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीतिगत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन गर्न सम्मेलनले माग गरेको छ । महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्व केशव भट्टराई, लीला अनमोल र सन्तोष शर्मा सदस्य रहेको गठित घोषणापत्र जारी समितिले उक्त मागसहित १० बुँदे घोषणापत्र जारी गरेको हो ।
त्यस्तै लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन, आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न, पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न, सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि र कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रवर्द्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न मागसहितको घोषणा पत्र जारी गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको मिडिया सम्मेलनमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महासंघ कोशीका निवर्तमान अध्यक्ष बिक्रम लुइटेल, महासंघका कार्यबाहक अध्यक्ष लवदेव ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।