२०८३ बैशाख २० गते , आईतबार
गोप्य राख्ने गरिएको मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
झापा । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि रास्वपाका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । मन्त्रिपरिषद् गठन भएपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएपनि सरकारले कानूनबमोजिम भन्दै त्यसलाई गोप्य राख्ने गरेको थियो ।
तर रास्वपाका मन्त्रीहरुले नै त्यसबारे चासो राखेपछि सोबारे मन्त्रिपरिषद्ले निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।