सात क्विन्टल गाँजासहित ४ जना
बिर्तामोड । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले मङ्गलबार राती देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट पक्राउ गरेको हो ।
मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा मङ्गलबार राति को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ४ सय ४० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतीय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ आइसिपी रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकअप भेनबाट केरा सहित गाँजा अनलोड गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट २५० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।