गोली हानेर प्रहरीले पक्रियो लागूऔषध कारोबारी
झापा । प्रहरीले एक जना लागूऔषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका-६ बाट मङ्गलबार भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।
खैरो हेरोईनको ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतीय हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।
बिआर३८क्यु३८३० नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।