गिरीबन्धुको विषयलाई कांग्रेसले संसदमा उठाउने
झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु चिया बगानको विषयलाई संसदमा उठाउने भएको छ । बगानको विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक भए पछि कांग्रेसले सो विषय सदनमा उठाउने भएको हो ।
कांग्रेसले मंगलबार सिंहदरबारमा गरेको संसदीय दल बैठकमा गिरीबन्धु टी-स्टेटको एजेन्डाले प्रवेश पाएको छ ।
संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकमा गिरीबन्धु टी-स्टेटबारे कुरा उठेको र छलफल भएको जानकारी दिए।
‘गिरीबन्धु टी-स्टेटसम्बन्धी कुरा संसदीय दल बैठकमा प्रवेश गरेको छ। यो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर थप कुरा सार्वजनिक गर्छौं,’ लेखकले भने, ‘आज संसदीय दलमा यो विषय पनि प्रवेश गरेको छ। अर्को बैठकमा थप छलफल हुन्छ।’
संसदीय दल बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी-स्टेटबारे पनि संसदमा कुरा उठाउनुपर्ने भएकोले सबै सांसदहरूलाई यसबारे सर्वोच्चका फैसला अध्ययन गर्न आग्रह गरेका थिए।
केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको थियो।