इलाम-झापा मैत्री समाजलाई ढुङ्गाना दम्पतिले दिए १ लाख ५१ हजार
बिर्तामोड । इलाम-झापा मैत्री समाजले स्थापना गरेको अक्षय कोषमा शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुङ्गाना र अन्जना ढुङ्गानाले १ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशील इलाम-झापा मैत्री समाजलाई ढुङ्गाना दम्पतिले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । ढुंगाना परिवारले समाजकी अध्यक्ष तिलोत्तमा खत्रीलाई चेक हस्तान्तरण गरेका थिए ।
इलाममा जन्मिएर झापामा स्थायी तथा अस्थायी बसोबास गरिरहेका मानिसहरूको सामाजिक संस्थाको रूपमा रहेको इलाम-झापा मैत्री समाजले विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको छ।
परोपकारी काम गर्ने उद्देश्यले समाजले स्थापना गरेको अक्षय कोषमा हालसम्म ७ लाख रुपैयाँ जम्मा भइसकेको अध्यक्ष खत्रीले जानकारी दिइन्।
संस्थाको भवन निर्माणका लागि समाजसेवी तथा युवा व्यवसायी इन्जिनियर महेन्द्र थापाले १० धुर जग्गा उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।
हालसम्म समाजको बुद्ध शान्ति अर्जुनधारा बिर्तामोड मेचीनगर र भद्रपुर नगर समितिसमेत गठन भइसकेको उपाध्यक्ष नरेश कर्मचारीले जानकारी दिए ।
संस्थामा हालसम्म २५० बढी आजीवन सदस्य आबद्ध भइसकेको महासचिव दिनेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार १ हजार ५ सय रुपैयाँ शुल्क तिरेर आजीवन सदस्यता लिन सकिने छ ।