लम्पी स्किन प्रभावित किसानलाई राहत वितरण
फिक्कल । इलामको सूर्योदय नगरपालिकाले लम्पी स्किन रोगबाट पशु क्षति भएका किसानलाई करिब ९० लाख रुपैँया राहत दिएको छ । निःशुल्क उपचार र प्राविधिक निःशुल्क उपलब्ध गराएको नगरले उपचारको बिच पनि मृत्यु भएका पशु धनीलाई क्षतिको आधारमा राहत वितरण गरेको हो ।
गत बर्ष नगरमा व्यापक रूपमा फैलिएको लम्पी स्किन भाइरसबाट इलाम जिल्ला सँगै सूर्योदय नगरका किसान नराम्ररी प्रभावित भएका थिए । किसानको दैनिकी नै बिग्रिएको थियो । त्यसबेला पनि लम्पी स्किन बाट ग्रसित गाईबस्तुको लागि नगरले करिब पाँच सय किसानलाई क्षतिको आधारमा राहत वितरण गरेर किसानको घाउमा मलम पट्टी गर्ने प्रयास गरेको नगरप्रमुख रणबहादुर राईले बताए ।
राईका अनुसार ५४० पशु मरेका ४९३ किसानलाई राहत वितरण गरेको हो । माउ गाई मरेको किसानलाई २० हजार कोरली बाछी मरेको किसानलाई १० हजार र गोरु, बहर मरेको किसानलाई ५ हजारका दरले नगद उपलब्ध गराएको नगरप्रमुख राईले बताए ।
नगरले नगरक्षेत्रका किसानले पालेका पशुलाई निःशुल्क रूपमा खोप पनि उपलब्ध गराइएको छ । सूर्योदय नगरपालिकामा ४ सय ९३ किसानको ३६३ माउ गाई १५१ कोरली गाई र २६ वटा गोरु मरेको थियो नगर उपप्रमुख दुर्गा बरालले जानकारी दिए । थोरै भए पनि राहत पाए पछि किसानले केहि राहत महशुस गरेका छन् ।
सूर्योदय नगरपालिकामा अधिकांश किसान पशु पालनमा निर्भर छन् । नगरले लम्पी स्किन विरुद्धको मात्र नभई खोरेत विरुद्धको खोप पनि निःशुल्क रूपमै लगाउँदै आएको नगर प्रमुख राईले बताए । नगरलाई खोरेत मुक्त बनाउन नगरले अभियान नै चलाइरहेको नगरले गाईलाई उन्नत सेक्स्ड सिमेन मार्फत गर्भधारण गराउने लगायत किसानमुखी काम गर्दै आएको छ ।