मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
बिर्तामोड । झापाको कचनकवल गाउँपालिका वडा नं ६ स्थित पेट्रोल नजिकै शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति १० बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनाबाट कचनकवल ४ निवासी ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको हो ।
बनियानी केचना सडक खण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको भारतीय नम्बरको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भीर घाइते साहको उपचारको क्रममा ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट भारतीय नम्बरको मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका १४ वर्षीय सन्दीप माझी, मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार सोही स्थानका बर्ष २१ को गोपाल राजबंशी र अन्दाजी २४ वर्षीय राम बहादुर राजबंशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए। घाइतेहरु तिनै जनाको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए ।
संदिप माझीलाई राति नै थप उपचारका लागि बीएण्डसी अस्पताल लगिएको र अन्य घाइतेको ओमसाई पाथिभरा अस्पतालमा उपचार भई रहेको उनले जानकारी दिए ।