हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी पक्राउ
बिर्तामोड । हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएसँगै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीलाई शनिबार साँझ नै बीएण्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उच्च रक्तचापका बिरामी गिरीले स्वास्थ्यमा असहज महशुस गरेकाले प्रहरीले बीएण्डसी अस्पताल लगेकोमा डाक्टरले भर्ना गर्नुपर्ने बताएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । उनलाई प्रहरीको निगरानीमा अस्पतालमा राखिएको डीएसपी बिष्टले बताए ।
जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दिवारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए ।
फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपनान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपिल समेत गरेका थिए ।