लागूऔषध दुर्व्यसन विरुद्ध आमा समूह गठन तीब्र
बिर्तामोड । बढ्दो लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतना जगाउने उद्धेश्यले झापामा ‘लागूऔषध दुर्व्यसन विरुद्ध आमा समूह’ धमाधम गठन भई रहेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले पालिकास्तरीय आमा समूह गठन गर्ने कामलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । पालिकाका उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई समेटेर समिति निर्माण गरिएको उनले बताए ।
शुक्रबार भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको जिप्रका झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । यो सँगै झापाको १३ वटा पालिकामा समिति गठन गरिसकिएको उनले बताए । मेचीनगर नगरपालिका र कचनकवलमा समिति गठन गर्न बाँकि रहेको उनले बताए ।
समिति मार्फत पालिकाहरुमा लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको जिप्रका झापाका एसपी केसीले जानकारी दिए ।
झापा लागूऔषध दुर्व्यसनीको हब बनिरहेको छ । भारतीय बजारमा सहज रुपमा लागूपदार्थ उपलब्ध हुनु, खुला सिमानाका हुनु, बेरोजगारीआदि कारण लागूऔषध दुव्यर्सनी बढेको जानकारहरुको भनाई छ । दैनिकजसो लागू पदार्थसहित त्यसको ओसारपसारमा संलग्नहरु पक्राउ परेपनि समुदायस्तरबाटै यसको नियन्त्रणमा तदारुकता नदेखाउने हो भने अवस्था भयावह बन्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।