दमकमा भएको आगलागीबाट अढाई करोडको क्षति
बिर्तामोड । मंगलबार साँझ दमकमा भएको आगलागीबाट अढाई करोडको क्षतिभएको प्रारम्भिक अनुमान गरिएको छ । तीन वटा घर र लाइफ लाइन अस्पतालमा भएको आगलागीका कारण दुई करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको अनुमान गरिएको हो ।
मंगलबार बेलुका ७ः२५ बजे दमक–५ स्थित लाइफलाइन अस्पताल छेउको प्रेम धिमालको घरमा विद्युत सर्ट भई शुरु भएको आगलागीका कारण अन्य घर तथा अस्पतालमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलको इन्भर्टरको लाइन सर्ट भई आगलागी हुँदा धिमालको काठको १ तले घर, चार लाख नगद र घरमा भएको ३५ तोला सुन समेत गरी अन्दाजी ७९ लाख ९० हजार बराबरको क्षति भएको जिप्रका झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
त्यस्तै रामवती भुजेलको पक्की वाल र टिनको छाना भएको १ तले घरमा आंशिक क्षति पुगेको छ । उनको करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै मेघबहादुर तामाङको टिनको छाना र टिन तथा जालीको बेरा भएको घरमा सञ्चालित रुवी होटलमा भएको सम्पूर्ण फर्निचर, ल्यापटप, १ तोला सुनसमेत जलेर नष्ट हुँदा तेह्र लाख ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीका कारण लाइफलाइन अस्पतालको डाइलाइसिस मेसिन ६ थान, एसी ३ थान, सिसि क्यामेरा र अन्य मेडिकल उपकरणसमेत गरी अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिकाको २ वटा, उर्लाबारी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयले ८ः२५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।