बिर्तामोडको सुकुम्बासी बस्तीमा आगलागी, दुई घर जलेर नष्ट
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ। आज बिहान ९:३० बजे भएको आगलागीबाट दुईवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
बद्री कुमार दर्जीको घरको पुजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्कन गई आगलागी हुँदा टिनको छानो टाटीबेरा भएको १ तले घर तथा घरमा रहेको सम्पूर्ण फर्निचर, नागरिकता तथा नगद २२ हजारसमेत जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट सात लाख रुपैयाँ बराबरको क्षति भएको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार दर्जीको घरबाट सल्किएको आगोले नजिकै रहेको जैगुन खातुनको घर समेत जलेर पूर्णरूपमा क्षति भएको छ । उनको टिनको छानो टाटीबेरा भएको १ तले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, नागरिकता, मोबाईल १ थान तथा नगद ४३ हजार रुपैयाँसमेत जल्दा अन्दाजी ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपायामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
स्थानीय मानिस तथा नेपाल प्रहरीले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा १०:३० बजे आगो नियन्त्रणमा लिएको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।