बेकरी उद्योग व्यवसायी संघको अध्यक्षमा चिमरिया र सचिवमा अधिकारी
भद्रपुर । बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा सम्पन्न भएको छ । झापाको भद्रपुर–७ स्थित नव दुर्गा मन्दिरको सभाहलमा शुक्रबार चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संघका अध्यक्ष नरबहादुर गिरीको अध्यक्षता भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रकाश सापकोटाको प्रमुख अतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले संघीय र प्रदेश सरकारको नीति अनुरुप बेकरी उद्योगी व्यवसायीको समस्या समधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए । उनले भारतबाट अवैध रुपमा आयात हुने बेकरी आइटम र दक्ष कामदार अभावको विषयमा अनुगमन र तालिम आयोजना गर्ने बताए ।
कार्यक्रममा विशेष अतिथि झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले सरकारी नीतिका कारण मुलुक परनिर्भर बन्दै गएको बताए । उहाँले सरकारी नीति सुधारसँगै भ्रष्टाचार नियन्त्रण गर्न सके मात्र मुलुक समृद्ध हुने धारणा राखे ।
कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमलीले उद्योग खोल्नु उद्योगीका लागि दुर्भाग्य जस्तै बनेको धारणा राखे । उद्योग खोल्नेदेखि सञ्चालन गर्नसम्म अनेक झण्झटले गर्दा नेपालको उद्योग–व्यवसाय फस्टाउन नसकेको उनको भनाइ छ ।
कार्यक्रममा नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरकारले उद्योगी–व्यवसायी मैत्री कानून ल्याउनुपर्नेमा जोड दिँदै साधारण सभापछि हुने अधिवेशनले समक्ष नेतृत्व चयनको कामना गरे । शुभकामना मन्तव्य राख्दै अधिवक्ता डम्बर वनले कानूनी जटिलताले गर्दा उद्योग, संस्था लगायतका दर्ता–खोल्न असहज परिस्थित रहेको औंल्याउँदै सोको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका उपाध्यक्ष दिनेश अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले गत २०७९ सालदेखि गरेका गतिविधि, बेकरी व्यवसायमा देखापरेका चुनौती र संघको भावी रणनीतिका बारेमा जानकारी दिए ।
नेपाल गुणस्तर तथा नापतौला कार्यालय झापाका प्रतिनिधि विजय चौधरी लगायतको आतिथ्य रहेको कार्यक्रमको स्वागत सदस्य सन्देश पौडेलले गरेका थिए भने सञ्चालन सदस्य भीमा शिवाकोटीले गरेकी थिइन् ।
यसैबीच, साधारण सभासँगै भएको दोस्रो अधिवेशनले दुई वर्षे कार्यकालका लािग सुमन चिमरियाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित संघको उपाध्यक्षमा रमेशकुमार राजवंशी, सचिवमा दिनेश अधिकारी, कोषाध्यक्षमा नेत्र सोनी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, संघको सदस्यहरु सागर दाहाल, राजु ढकाल, सन्देश पौडेल, कल्पना राजवंशी र गणेश घोष चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले दुई जना सदस्य थप गर्ने जनाइएको छ ।
खगेन्द्र पोखरेल संयोजक तथा सदस्यहरु प्रेम श्रेष्ठ, हरि राजवंशी, कञ्चन दास र शिव कार्कीको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।