अर्याल परिवारमा छोरीहरुले गर्दैछन् आमाको मृत्युकर्म
बिर्तामोड । छोराले मात्र आफ्नो बुवाआमाको काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै परिवर्तन हुँदै गएको छ । छोरा र छोरी दुवै बराबरी हुन् भन्ने जैविकीय मान्यता अनुरुप पछिल्लो समय समाजमा छोरीले समेत बुवाआमाको काजकिरिया गर्ने क्रम बढिरहेको छ । त्यहि मान्यतालाई पछ्याउँदै यतिबेला इलामको रोङ गाउँपालिकामा छोरीहरुले आफ्नी दिवंगत आमाको मृत्युकर्म गरिरहेका छन् ।
रोङ गाउँपालिका वडा नम्बर ४ बाघखोरका गरिमा र कृतिका अर्यालले स्वर्गीय आमाको मृत्यु पश्चातको तेह्र दिने कर्म गरिरहेका छन् । १८ बर्षीया गरिमा र १४ बर्षीया कृतिकाले आमा तारादेवि रिजालको मृत्युकर्म गरिरहेका हुन् । उनीहरु पुरुषले जस्तै सेतो वस्त्र लगाएर काम गरिरहेको स्थानीय सिंहबहादुर राईले जानकारी दिए । स्वर्गीय रिजालकी तीन छोरीहरु मात्र रहेका छन् । कान्छी छोरी योजना सानै भएकाले उनी भने उक्त कर्ममा सहभागी छैनन् । उनीहरु पत्रकार गणेश अर्यालका छोरी हुन् ।
स्वर्गीय रिजाल स्तन क्यान्सर र ब्रेन ट्युमरबाटबाट पिडीत थिइन् । उनको ४५ बर्षको उमेरमा गत मंगलबार निधन भएको थियो ।
छोरा र छोरी समान हुन् भन्ने मान्यता अनुरुप आफुहरु आमाको मृत्युकर्ममा सहभागी भएको जेठी छोरी गरिमाले बताइन् । छोरीहरुले नै दागबत्तीसमेत दिएको आफन्त मोहन अर्यालले बताए ।
प्राणघातक रोगबाट ग्रसित अवस्थामा रिजालले आफ्नो मृत्यु पश्चात छोरीहरुले नै काजकिरिया गर्नु भन्ने अन्तिम इच्छा राखे अनुरुप अहिले छोरीहरुले कर्म गरिरहेको श्रीमान गणेशले बताए । अर्याल परिवारले चालेको कदम महिला पुरुषबिचको विभेद र असमानता विरुद्धको एउटा उदाहरण र सांस्कृतिक तथा सामाजिक परिवर्तनको संकेतको रुपमा आफुले लिएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुबास) बताउँछन् ।